नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्दनिकट कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुमका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ता सन्तोष विक छन् । उनीहरु सबै जिल्ला अदालत तनहुँको आदेशमा सोमबार रिहा भएका थिए । रिहा लगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
राजद्रोहको मुद्दामा गत असार ४ देखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ ।
गत असार ४ मा चारैजनालाई पोखराको मुस्ताङ चोकबाट प्रहरीले पक्राउ गरी तनहुँ ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो । अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए । त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।