‘छोरो पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले’ भन्ने पुरानो नेपाली उखान प्रदेश नम्बर २ को प्रदेश सभा सचिबालयमा चरितार्थ भएको छ। प्रदेश २ को प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गर्नुपुर्व नै निर्माण कार्य सुरु गरेकाे थाहा पाएपछि स्थानीयसमेत चकित भएका छन्।
कमिशनका लागि आफ्ना निकटका व्यवसायीलाई निर्माण कार्य दिएको सचिवालयले काम शुरु गरिसकेपछि मात्र टेण्डर आह्वान गरेको खुलेको हो। सचिवालयले ६० लाखभन्दा बढीको ठेक्का गोप्य रुपमा आरएन कन्स्ट्रक्सन र बीके ट्रेडर्सलाई टेन्डर दिएको भेटिएको हो।
प्रदेशसभा परिसरभित्र गाडी राख्ने ग्यारेज, पीसीसी ढलान, पीसीसी सडक निर्माण, परिसरमा माटो भर्नेलगायतका काम भइरहेको छ। तर प्रदेशसभा सचिवालयले टेन्डर निकाल्नु पूर्व ती निर्माण कार्य सुरु गरेको बताइएको छ। ग्यारेज निर्माण कार्य गरिरहेका मिस्त्री साहेब मण्डलले १० असारदेखि काम सुरु गरेको बताए। अब दुई दिनमै सबै काम सकिने उनको भनाई छ।
तर, निर्माण कार्य पुरा नहुँदै पुर्वाधार कार्यालय धनुषाका प्राविधिकले मूल्याङ्कन समेत गरिसकेका छन्। ग्यारेज निर्माण गर्न १९ लाख रुपैयाँ बराबरको टेन्डर निकालिएको छ। पुरानै पर्खालमा ट्रस राखेर निर्माण भइरहेको ग्यारेजको भुइँमा पीसीसी ढलान गर्न ५५ लाख रुपैंया छुट्याइएको छ।
प्रदेशसभा परिसरभित्र पीसीसी सडक निर्माण गर्न १९ लाख रुपैंया र माटो भर्न ३९ लाख रुपैंयाको छुट्छुटै चारवटा टेन्डर प्रकाशन गरिएको उपसचिव अवध किशोर कुश्वाहाले बताए।
प्रदेशसभा सचिवालयले बजारमा नियमित नआउने एक स्थानीय पत्रिकामा १ असारमा १५ दिने सूचना प्रकाशन गरेको थियो। तर १६ असारमा टेन्डर खोलेर २० असारमा निर्माण व्यवसायीलाई कार्यदेश दिएको सचिवालयको दावी छ। कार्यदेश दिइसकेपछि मात्र निर्माण कार्य सुरु भएको प्रदेशसभा सचिवालयका उपसचिव कुश्वाहाले बताए।