प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका अधिकारीहरुलाई बाढीबाट प्रभावितहरुलाई उद्दार र राहत वितरण कार्यलाई प्रभावकारी तरिकाले अगाडी बढाउन निर्देशन दिएका छन् ।
विपद व्यवस्थापनबारे आइतवार प्रदेश २ का उच्च सुरक्षा निकायसँग भएको छलफलमा मुख्यमन्त्री राउतले पीडितलाई उद्धार पश्चात राहत वितरण कार्य समेत प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् ।
प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै सुरक्षा अधिकारीहरुले विपद् व्यवस्थापनमा खटिएको सुरक्षा निकायकालागि लाइफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतको उद्दार समाग्रीको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।
यसअघि प्रदेश सरकारले राहत वितरणको लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख, मृतक परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।