प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अधिवक्ताहरूले दलीय भावनाअनुरुप अभिव्यक्ति दिनु चिन्ताको विषय रहेको बताएका छन् ।
शुक्रवार नेपाल वार एशोसिएशन केन्द्रीय कार्यालयले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय परामर्श बैठकमा बोल्दै मुख्यमन्त्री राउतले कानून रक्षाको जिम्मेवारी बोकेका अधिवक्तालाई दलीय भावनाबाट माथि उठन आग्रह गरेका हुन् । ‘संघीयता कार्यान्वयनकालागि बार एशोसिएशनको भूमिका पनि महत्वपूर्ण छ तर कतै न कतै दलीय हिसाबले पनि वकालत हुने गरेको छ यो चिन्ताको विषय हो,’ उनले भने ।
राउतले संविधानमा स्पष्ट रहेका व्यवस्थामा पनि तीनै तहका सरकारबीच मतभिन्नता भइरहेको हुँदा त्यसलाई स्पष्ट व्याख्या गर्न बारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलीय र जातीय चिन्तनबाट बारलाई माथि उठेर संघीयताको कार्यान्वयनको पक्षमा अगाडि बढनु पर्ने बताए ।