नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका सरोजनारायण सिंहको घटनामा दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।
पीडित परिवारलाई सान्तवना दिन बिहीवार सरोजको घरमै पुगेका निधिले घटनाप्रति दुःख व्यक्त गर्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकारसँग माग गरे।
कांग्रेसले घटनाको कडा निन्दा गर्दै संसदमा अबरोध गरी तत्काल संसदीय छानविन समिति गठन गर्न समेत माग गरेका उल्लेख गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले भने, ‘सरोजलाई सहिद घोषणा गर्दै स्थानीय प्रशासन र सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन हुनुपर्छ।’
सरोजको १३ औँ पुण्य तिथिमा अयाोजित श्रदाञ्जली सभालाई सम्बोधन गर्दै निधिले अबैध उत्खनन्बाट बनेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय अमित रायको मृत्यु भएको घटनामा समेत दोषीलाई कार्वाही गर्न माग गरे।
पैसा र कमिसनको लोभमा अबैध उत्खनन गर्न लगाउने स्थानीय सरकार समेत गम्भीर हुनुपर्ने निधिको भनाई थियो। गत असार १५ गते बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा डुबेर १२ वर्षीय अमित कुमार यादवको मृत्यु भएको घटनाको विरोधमा राजमार्ग अबरुद्ध गर्न पुगेका प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीले चलाएको गोली गोली लागेर सरोजको मृत्यु भएको थियो भने अर्का स्थानीय राजकुमार महरा घाइते भएका थिए। अमित र सरोजको मृत्युले ईश्वरपुर शोकमा डुबेको छ।
भावुक बनेका निधि जसोतसो संहालिए
सरोजको घरमा पुगे लगतै निधिको भेट भयो सरोजको ८ महिने छोरो काखमा बोकेका उनको भाइसँग। बुवाको पर्खाइमा रहेका बालककलाई देख्नासाथ निधिले काखमा समाए।
त्यसपछि उनको भेट भयो सरोजको बुवा जिवछ नारायणसँग। रसाएका आँखा देखेपछि निधि भावुक बन्दै सान्तवना दिए। सरोजको आत्माको चीरशान्तिको कामना गरे। घरको रुवावासीकाबीच निधिको भेट भयो सरोजकी आमा र पत्नीसँग। उनीहरुलाई सान्तवना दिन लागेका निधिले जसोतसो रसाएको आँखा संहालेका थिए।