प्रा डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा आफू अनुकुलका व्यक्ति ल्याउने खेल भएको आरोप लगाएका छन् ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया मान्य नहुने बताएका हुन्। संघीय संसद प्रतिनिधिसभाले पुस २७ गते बहुमतका आधारमा चिकित्साशिक्षा ऐन पारित गरेको थियो ।
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्ष गरिरहेका केसीले सरकारले ल्याएका विधेयक फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले चकित्सा क्षेत्रका यावत विकृतिहरू रोकेर गुणस्तरीय जनशक्ति उत्पादनका लागि दुरुस्त ऐन र त्यस अन्तर्गत नियमनको निरन्तरताका लागि लडिरहने बताए ।
उनले चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरु हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यता तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न माग गरे । त्यसो नगरिए कडा आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने डाक्टर केसीले चेतावनी दिए ।
उनले २०७५ साउन १९ गते चिकित्सा शिक्षा विधेयकमा बुँदागत रूपमा संशोधन गरेर पारित गर्ने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि पछि सुधारको मर्मविपरीत प्रधानमन्त्रीकै निर्देशनमा माफियामुखी प्रावधानहरू राखेर जबर्जस्ती ऐन पारित गरिएको आरोप लगाए ।