पाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिसन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज (शनिबार) चितवनमा आयोजना गरेको एकदिने प्रशिक्षणको उदघाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे । राजनीतिमा मिसन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘राजनीतिमा मिसन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’ उनले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए ।
फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाए । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।’ प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले प्रशिक्षण दिएका थिए । -रासस