कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका मायादेवी गाउँपालिकाको पिपराका नसिम खान (बादशाह) काठमाडौंंबाट आज (शनिबार) बिहान पक्राउ परेका छन् ।
कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका खानविरुद्ध जिल्लामा करिब १ दर्जन हत्या, आतंक, लुटपाट, अपरहणलगायत मुद्दा दर्ता छन् । प्रहरीको मोस्ट वान्डेटको सूचीमा रहेपछि खान कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलिगढवामा निजी घर बनाई बस्दै आएका थिए ।
सीमावर्ती भारतीय बजार अलिगढवाबाटै कपिलवस्तु जिल्लाभर उनले प्रभाव जमाउँदै आएका थिए । मोस्ट वान्टेड खान राजधानीमा पक्राउ परेको खबर सुने पनि अझै पुष्टि नभएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र १ डाँका मुद्दा दर्ता छ । पक्राउ परेका खान उपर तत्कालीन माओवादीका जिल्ला स्तरीय नेताहरू राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपुजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ ।
विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर, उनीमाथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाका सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी सीमावर्ती भारतीय क्षेत्रमा बस्दै आएका थिए ।
खानकै प्रभाव र मुस्लिम बाहुल्य क्षेत्रलाई आफ्नो पक्षमा पार्न उनकी पत्नी फैजिया नसिमलाई नेकपाले समानुपातिक प्रदेशसभा सदस्य पदमा चयन गरेको छ । प्रदेशसभा सदस्य फैजिया नेकपाका केन्द्रीय नेताहरूसँग आफ्ना पति नसिम खानको सबै अभियोग द्वन्द्वका बेला भएको भन्दै माफी दिलाउने पहलमा छिन् ।
गत २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको उनीमाथि किटानी जाहेरी परेको छ ।