लोकसेवा आयोगले स्थानीय तहमा पदपुर्तीका लागि कर्मचारी भर्नाको आह्वान गरपछि प्रदेश २ सरकारले चर्को विरोध ग¥यो।
कतिसम्म भने आयोगले आह्वान गरेको विज्ञापन संविधान विरोधी रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले कानुनी उपचार खोज्ने चेतावनी नै दिए। यसैगरी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले विज्ञापन फिर्ता नलिए आयोगबिरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिए।
तर यस्तै चेतावनी दिएको एक महिना नबित्दै उनै मुख्यमन्त्री राउतले लोक सेवा आयोगको तयारी कक्षा संचालनको उदघाटन गरेका छन्। बुधबार जनकपुरको राजर्षी जनक क्याम्पसमा मुख्यमन्त्री राउतले आयोगको तयारी कक्षाको उदघाटन गरेका हुन्।
आयोगको तयारी कक्षामा १ सय १ जना छात्रा सहभागी गराइने बताइएको छ। यसका लागि मुख्यमन्त्री कार्यालयले बजेट समेत छुट्याइसकेको छ। १२ कक्षा पास गरेकी छात्राहरु आयोगको तयारी कक्षामा सहभागी हुन पाउने बताइएको छ।
छात्राहरुलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत तयारी कक्षा संचालनको शुभारम्भ गरेका हुन्। कक्षा संचालनपछि छोरीहरुले पनि लोकसेवामा नाम निकालेर प्रतिष्पर्धी हुने सक्षम हुने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे।
समानता र समतामूलक समाज निर्माणका लागि छोरीलाई पनि समान अवसर दिनु पर्ने आवश्यकता रहेको भन्दै उनले महिला सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थल बुझी प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तैयारी कक्षा संचालन गरेको मुख्यमन्त्री राउतले उल्लेख गरे।