कांग्रेसमा तेस्रो समूह भनेर चिनिने सिटौला पक्षले आफ्नो सक्रियता बढाउन थालेको छ। कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको यो समूहका नेताहरूले सोमबार पनि सरकार र पार्टी नेतृत्वको सामूहिक आलोचना गरे।कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेताहरूले सरकारको विरोध मात्रै गरेनन्, पार्टी नेतृत्वसँग १४औँ महाधिवेशन गर्न माग पनि गरे।
जिपी कोइराला अध्ययन केन्द्रले गरेको ‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा सिटौलासहित गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेललगायत नेताले कांग्रेसकै संस्थापन समूहको आलोचनागरेका हुन्। सरकारले न्यायालयदेखि सुरक्षा संयन्त्र, प्रेस, मानवअधिकार सबैतिर हस्तक्षेपको नीति लिएको आरोप लगाए। साथै, संघीय प्रणालीअनुसारका संयन्त्र बनाएर प्रभावकारी रूपमा पार्टी चलाउन नसक्दा कांग्रेस नेतृत्वले सरकारविरुद्ध दबाब बढाउनै नसकेको उनीहरूको भनाइ थियो।
कांग्रेसलाई सुधार्ने विचार समूहका रूपमा आफूहरूलाई अथ्र्याउँदै उनीहरूले विधि, विधान र पद्धतिअनुसार नचले पार्टी झन् कमजोर भएर जाने टिप्पणी गरे। कार्यक्रममा केन्द्रीय सदस्य शिव हुमागाईं, विद्यार्थी नेता कुन्दन काफ्ले, नेताहरू देवराज चालिसे, उत्तम चापागाईं, रामप्रसाद अधिकारीसहितले पार्टी सुधारका लागि निरन्तर खबरदारीको खाँचो औँल्याए।
१३औँ महाधिवेशनमा सभापतिको निर्वाचनलाई दोस्रो चरणसम्म लगेर निर्णायक देखिएको सिटौला पक्ष यसपटक पनि आफूलाई निर्णायक शक्ति बनाउने गरी अभियान अघि बढाउने तयारीमा छ। पार्टी नेतृत्वले एक वर्ष समय थप गरे पनि अब सदस्यता वितरणदेखि संशोधित विधानले व्यवस्था गरेका संघीय संरचना छिटो गठन गर्न सो पक्षले पार्टी नेतृत्वसमक्ष दबाब बढाइरहेको छ।
‘हामी हाम्रो दृष्टिकोण अझै प्रस्ट बनाएर जान्छौँ। राष्ट्रिय राजनीति र पार्टीका विषयमा हामी थप सक्रिय हुनुपर्नेछ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘पार्टीमा सबै रणनीतिक मुभमा छन्। सबैको तयारी अधिवेशनमुखी देखिन्छ। हामी तेस्रो पक्षका रूपमा सामूहिक पार्टीका फोरममा प्रस्तुत हुन्छौँ।’ नयाँ पत्रिकामा खबर छ।