नेपाली कांग्रेसका सांसद गगन थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐनविपरीत ‘यार’ पोस्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले वन मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमनसम्बन्धी कार्यविधि ०७५ जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संविधानको भावना र ऐनमा भएको व्यवस्थाविपरीत कार्यविधि बनाएको भन्दै वनमन्त्री बस्नेतलाई संसदमा बोलाउन पनि सभामुखको ध्यानाकर्षण गराए । 'यस्तो कार्यविधि लागू हुनुको अर्थ हो खप्तडमा रिसोर्ट, ढोरपाटनदेखि शिवपुरीसम्म रिसोर्ट र होटल, लाङटाङ, गौरीशंकर, मनास्लु, सगरमाथादेखि रारा तालसम्म होटल रिसोर्टहरु खोल्ने,' उनले भने, 'यति मात्र होइन, सभामुख महोदय, यी ठाउँहरुमा केवलकार सञ्चालन हुनेछन्, रापेवे चल्नेछन्, जिप सफारीदेखि लाइट माउन्टेन फ्लाइटसम्म चल्नेछन् । यो सोच नै गलत छ । यसरी दोहन गर्दा कुनै पनि स्रोत बाँकी रहँदैन । स्रोतको संरक्षण गरेर लाभ लिने हो । तत्कालको लाभको निम्ति समग्र स्रोत नै नष्ट गर्ने होइन ।'
उनले कार्यविधि बनाउँदा मन्त्रीको सोचमात्र नभई नियत नै गलत रहेको पनि आरोपसमेत लगाए ।