गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमै मारिएको दाबी गरेका छन्। आज बिहान संसदको राज्य व्यवस्था समिति बैठकमा थापाले उक्त घटनाको छानबिन गर्ने पनि बताए।
बैठकमा अधिकांश सांसदहरुले सर्लाही घटना मुठभेडमा नभई नियन्त्रणमा लिएर भएकोे बताएका थिए। सांसदहरु जनार्दन शर्मा, दिलेन्द्र बडू, झपट रावल, यशोदा सुवेदी, रामसराय यादव लगायतले उक्त घटना छानबिन हुनुपर्ने माग गरेका थिए।
सांसद शर्माले कानुनत उनलाई नियन्त्रणमा लिनुपर्नेमा यो घटनाले द्वन्द्व बढाउने बताए।
बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द खनाल पनि उपस्थित थिए। खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताएका थिए।
गृहमन्त्री थापाले सरकारले वार्ता गर्न चाहे पनि चन्द समूहले नचाहेको बताए। ।
नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको लालबन्दी(१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएको थियो।