मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नाम केही दिनभित्रै सहमतिबाट टुङ्ग्याइने बताएका छन् ।
प्रेस सङ्गठन उदयपुरले आइतबार गाईघाटमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाटै टुंग्याउने अन्तिम चरणमा पुगेको बताए ।
प्रदेशको नाम किरात, कोसी किरात, सगरमाथा, कोसी सगरमाथा प्रदेशलगायत विकल्पमा छलफल भएको बताए । उनले भने, ‘असार दोस्रो साताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भएझैँ नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’
कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्न प्रदेश १ सरकारले ६० प्रतिशत बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईको भनाइ छ । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन थालेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेकाले प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए । -रासस