संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुरानो घरमा डोजर लगाएर नयाँ बनाउन सम्भव नहुने बताएका छन् ।
उनले कर्मचारीसँग सम्बन्धित नीति नियम समयानुकूल परिवर्तन गर्दै जाने बताए । संसदको राज्यव्यवस्था समितिको आइतबारको बैठकमा उनले सबै भताभुंग बनाएर नयाँ निर्माण गर्न अहिले अहिले सम्भव नहुने बताएका हुन् ।
‘हिजो गरेनम्, आज त्यो अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ उनले भने, 'अहिले जुन ऐन आएको छ । सबै भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’
मन्त्री पण्डित लामो समय छलफल गरी श्रेणी र तहगत प्रणालीमा गएको बताए । ‘अहिले मात्र होइन, लामो समय छलफल गरी स्थानीय र प्रदेशमा तहगत प्रणालीमा हामी गएका हौं । त्यसपछि स्वास्थ्य र निजामतीसँग जोडिएर कतिसम्म एकरुपता गर्न सकिन्छ त्यतिसम्म एकरुपता गरेर ल्यायौं,' उनले भने, 'भविष्यमा फेरि पनि वस्तुस्थितिका आधारमा जान नसकिने भन्ने कुरा भएन ।’
बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेका थिए । उनले सम्भव भएजति छलफल गरेरै ऐन ल्याइएको बताए ।