नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनका लागि देशभित्र र बाहिर रहेका नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिएका छन्।
डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित नेपाली जनसम्पर्क समितिहरुको प्रथम बिश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपसभापति निधिले सत्तासीन दलहरुका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकोले लोकतन्त्रबादीहरु एक हुनु पर्नेमा जोड दिए । लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रबादीहरुको प्रमुख दायित्व भएको उनको भनाई थियो ।
अहिलेको सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा उत्पन्न निधिले उल्लेख गरे। कम्युनिष्टहरुलाई संघीयतामाथि बिश्वास छैन, उपसभापति निधिले भन्नुभयो ‘लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकोले उनीहरु संघीयता बिरुद्ध हाकाहाकी कुरा गरिरहेका छन् ।’
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा गुट उपगुटका कुरा छाडेर एकजुट हुन आग्रह गरे । उनले एकजुट भएर हिड्ने हो भने कांग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न नसक्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम, दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, अमेरिकाका संस्थापक अध्यक्ष बिष्णु सुबेदी,पोर्चुगलका अध्यक्ष गंगाधार गौतम, भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, बिश्वप्रकाश शर्मा, धनराज गुरुङ्, भीष्मराज आंगदम्बे, गोबिन्द भट्टराई लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यसैगरी गोबिन्द भट्टराई, रामजी दाहाल लगायत्ले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।आइतबार सम्पन्न हुने कार्यक्रममा बिश्वका २३ देशका करिब २०० जनाको सहभागीता रहेको छ ।