प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशनपछि राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल हटाइको छ।
प्रधानमन्त्रीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न निर्देशन दिँदै यसो गर्नु मानवअधिकारविरुद्ध भएको बताएका छन् ।
फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।
दुई सातादेखि बिरामी चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।
संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।
सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।्