बुटवल १ मा रहेको रजा ए मुस्तफा मस्जिद गेटअगाडि खाली ठाउँ नछाडी कभर्ड हल बनाउन लागेको विरोधमा मुस्लिम समुदायले अनसन सुरु गरेका छन् ।
उनीहरुले पार्किङ क्षेत्र छुट्याएर मात्रै कभर्ड हल बनाउन माग गर्दै शुक्रबारदेखि मस्जिद गेटमै अनसन थालेका हुन् । पूर्वसांसद हाजि नजिर मियाको नेतृत्वमा संघर्ष समिति नै बनाएर अनसन सुरु भएको हो । मुस्लिम अगुवाहरुले मस्जिद च्यापिने गरी कभर्ड हल नबनाउन आग्रह गरे । मियाले समयमै आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने बताए ।
यसअघि उनीहरुले यही माग राखेर बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका थिए ।
१६ परिवार १० दिनदेखि अनसनमा
बुटवल उपमहानगरपालिकाले कभर्ड हल बनाउन भन्दै स्थानीयको घर भत्काएपछि १६ घरपरिवार अनसनमै छन् । अनसनको शनिबार १० दिन पुगेको छ ।
उनीहरुले आफूहरुलाई न्याय दिलाइदिन अपिल गरेका छन् । अहिले निर्माणाधीन कभर्डहल नजिक दुईथरिको अनसन छ । गएराती पानी परेपछि उनिहरुको विचल्ली भएको छ ।
एकातिर विस्थापित परिवारको भने अर्काेतिर मुस्लिम समूदाय धर्नामा बसेका हुन् । सो जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले डोजर लगाएर भत्काइदिएको थियो ।