सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए। ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ। एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने। १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ।
सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ। विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए। ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्षभित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने।
गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणको तयारी गरेको हो। प्रदेश प्रमुख र मुख्यमन्त्री विभिन्न प्रयोजनका लागि काठमाडौं आइरहनुपर्छ। त्यसैले उहाँहरूका लागि स्थायी आवास र कार्यालय बनाउन लागिएको हो। नयाँ पत्रिकामा खबर छ।