कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमाआयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको आरोप लगाए । सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको भन्दै पौडेलले कांग्रेस सरकारको रवैया गतिविधिकाे विरोधमा सडकमा उत्रिने चेतावनी दिए ।
साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले सरकारले विभिन्न विद्येयकहरु आवश्यक भएकोले अघि बढाएको सुनाउँदै गुठी विद्येयक पनि परिस्कृत गर्दै अघि बढाउने बताए । प्रमुख विपक्षी दलले कुनै एजेण्डा वा मुद्दा नै चयन गर्न नसकेको पनि उनको आरोप थियो । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने दाबी गरे ।
उनले पछिल्लो समय राजनीतिक दल र यसका जिम्मेवार नेताहरु कुनै न कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको पनि आरोप लगाए।