मेयरसापः नमस्कार,आरामै हुनुहुन्छ होला,
हुन त असारे विकासका नाममा भैरहेका गोष्ठि र सेमिनार उद्घाटनको मांचोमा यस्तो पत्र पढ्ने फुर्सद हजुरलाई कहां होलार तैपनि मनले मानेन र केही अक्षरहरु कोर्ने प्रयास गरेको छु । तपाई बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएको २०७४ साल असार २१ गते हो । मिति अनुसारको हिसाव गर्दा यो पत्र लेख्दाको दिनवाट झण्डै दुई वर्ष अथवा ७ सय १४ दिन भए छ ।
चुनाव जितेपछि यहा“ले बुटवल उप–महानगरपालिकाको पाईलटका रुपमा जिम्मेवारी अघि बढाई रहनु भएको छ । यो अवधिमा यहां देश विदेशका धेरै स्थानको भ्रमण पनि गरिसक्नु भएको छ । त्यहाँबाट देखेर आएको ज्ञानलाई बुटवलमा पनि लागु पर्ने प्रयासमै हुनुहुन्छ होला भन्ने आशा छ । किनभने नागरिकले आशा भन्दा वढि अरु के नै गर्न सक्छन् र । हामीले सक्ने भनेको भोट हाल्ने हो त्यो काम दुई वर्ष अघि नै ५ वर्षका लागि भैसकेको छ ।चुनावका वेला दुवै हात जोड्ने तर जितेपछि राजषी शैली त नेपाली राजनीतिको मुख्य धर्म नै भयो त्यसैले हजुरलाई मात्र आरोप लगाएर पापमा पर्न चाहान्न ।
मेयर साप अव मेरो पत्रको मुख्य विषय तिरै लागौं किनभने धेरै गन्थन लेख्दा हजुरको महत्वपुर्ण समय खर्च हुन सक्छ । चुनाव ताका यहांको मुख्य नारा भुमिहीन सुकुम्वासीहरुलाई पुर्जा वितरण गर्ने थियो । हुन त यहांलाई स्मरण नै छ होला घोषण पत्रको कुरा , पुन सम्झाउन चाहान्छु । तपाई उमेदवार बनेको तत्कालिन पार्टि नेकपा (एमाले) को स्थानीय तह निर्वाचन २०७४ घोषणापत्र मा धेरै कुरा छन् । घोषणा पत्रको बुदा नम्वर २७ को तेस्रो हरफमा यस्तो लेखिएको छ– ‘ घरबारबिहीन सुकुम्बासी, पुर्व कमैया–कमलरी र पुर्व हलिया, लोपोन्मुख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, राउटे,कुसुण्डा लगायतका विपन्न समुदायका परिवारलाई पांच वर्षभित्र सुविधासम्पन्न घर बनाएर हस्तान्तरण गर्ने ।’ यहि प्रतिवद्धतालाई पुरा गर्नलाई होला हजुरले निर्वाचित भएपछिको पहिलो बैठकमा पनि महत्वपुर्ण निर्णय गर्नु भयो । जसमा बुटवलको अव्यवस्थित बस्तीको लगत संकलन गरी समाधानका प्रभावकारी कामहरु अगाडि बढाउने निर्णय छ ।
हुन त नेपाली जनताले चुनावी नारा र घोषणा पत्रको फिटिक्कै विश्वास गर्दैनन् । फेरि पनि जनताले आशा गर्ने भनेकै राजनितीक नेतृत्व नै हो । यही आशा र भरोसामा बसेका बुटवल नगरवासीहरुलाई आश्चर्य चकित बनाउने एउटा घटना सार्वजनिक भयो । बुटवल वडा न १मा बसोवास गरिरहेका सुकुम्बासीहरुलाई नगरपालिकाले घर बनाएर प्रतिस्थापन होईन कि भएकै झुपडी नै भत्काईदिएर सडकमा पुर्याईदियो । त्यो पनि यहांकै प्रतक्क्ष निर्देशनवाट ।
शुरुमा त होईन होला भन्ने लागेको थियो तर सबैले भनेपछि विस्वास नगरी सुखै भएन । मेयरसाप तपाई विकासप्रेमी नेता हो,त्यसैले उक्त जग्गामा कर्वड हल निमार्ण गर्नु पर्ने आवश्यकता देख्नु भए छ तर ति निरिह नागरिकहरुलाई सम्झाई बुझाई अथवा विकल्पको पनि कुरा गरेको भए अहिले उनिहरुको हरिविजोग त हुने थिएन ।
मेयरसाप, यहांकै आदेश अनुशार जेठ ३० गते बुटवल उपमहानगरपालिकाका केही जनप्रतिनीधिहरु दलवलसहित उक्त स्थानमा पुगेर डोजर लगाए । बाँकी कामका लागि अर्को दिन पनि डोजरले काम गरेको थियो । आफ्नो श्रीसम्पती सहितका पोका पन्तुरा नागरपालिकाका सुरक्षाकर्मी र नेपाल प्रहरीका जवानहरुको सहयोगमा सडकमा फालिएको कुराले मनमा धेरै कुरा खेले । आर्थिक अवस्था कमजोर भएका १६ परिवारको वसोवास भएको त्यो स्थान खासमा श्री ३ महारानीको पुर्खौली भएको विभिन्न तथ्यहरुले देखाएका छन् । यसवारेमा अड्डा अदालतहरुमा आफ्नो ढंगले बहस पैरवी पनि भैरहेका छन् ।
तर, त्यो स्थानमा अलि पहुँचवाला व्यक्तिको पनि वसोवास भएको भए यस्तो हुदैन थियो होला । यदि यस्तो अभियान अब नरोकिने नै हो भने दुई दिन चलेको डोजर किन बन्द भयो । यसलाई चौविस घण्टा चलाएर सार्वजनिक जग्गा ओगटेर वसेका सुकुम्बासीहरुलाई त्यहांवाट हटाउनु पर्यो । जसवाट नगरपालिकाले धेरै सार्वजनिक जग्गा आफ्नो नियन्त्रणमा लिन सक्ला ।
के यस्तो गर्ने हिम्मत छ त स्थानिय सरकारको ? छैन किनभने तिनै सुकुम्वासीमा बस्ने मतदाताहरु तपाई जस्ता जनप्रतिनीधिका भाग्यविधाता हुन् । उनीहरुको भोटले चुनाव जित्नु पर्ने छ । त्यसो भए ति १६ घर परिवार नागरिक नै होईनन् र उनीहरुलाई गासवासको प्रवन्ध गर्नु पर्दैन ?
चुनावी घोषणा पत्र को व्यवहारिक कार्यानयनतर्फ लाग्ने हो भने यस्ता काममा अल्झन हुदैन जस्तो लाग्छ । उनिहरुका लागि घर नै निमार्ण गरिदिएर स्थानान्तरण गरिदिने तर्फ यहांले गर्वका साथ योजना सुनाउनु पर्दथ्यो । तर ठिक उल्टो घरै उजाड गर्ने यहांको यो कदमले त्यति वेलाको चुनावी घोषणा पत्रलाई गिज्जाईरहेको भान भएको छ ।
नेपाली उखान छ जो होचो उसैको मुखमा घोचो भने जस्तै ४८ वर्षदेखि बसिरहेका ति निरिह नागरिकहरु आज घर न घाटका भएका छन् । ४२ डिग्रीसम्मको तापक्रममा पनि खुला आकासमा बस्न बाध्य नागरिकको मानवअधिकार कहां छ मेयर साप ? वर्षादको समयले घेर्दै छ । अब ति नावालक देखि बृद्धहरु कसरी सडकमा रात काट्न सक्छन् । यसको जवाफ तपाईले दिनु पर्दैन ।
यहांले बुटवलका २३ हजार २सय ४९ जना मतदाताको भोट पाएर जित्नु भएको हो । तर चुनाव जितेपछि बुटवलका सबै नागरिक तपाईका सेवाग्राही हुन् । उनीहरुको वाच्न पाउने, खान वस्न पाउने जस्ता आधारभुत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानिय सरकारको पनि हो । यसवाट तपाई उम्किन मिल्दैन ।
मेयरसाप विन्ती छ एक पटक यहां जेठ असारको टण्टलापुर घाममा अनसन बसेका ति बवुराहरुको छेउमा पुग्नु होला । उनीहरुका आखांबाट वगेका आशुलाई एक पटक पढ्नु होला अनि तपाईलाई थाहा हुन्छ कि उनिहरुको वास्तविकता । यहांलाई भ्रम परेको पनि हुनसक्छ उनीहरु सरकारी जग्गा हडप्ने भूमाफीया हुन् । ४८ वर्ष एउटा टिनको टहरामा बसेकाहरुको सम्पनी पनि हेर्नु नभुल्नु होला सम्भव भए छेउमै रहेको टिनको वाकस पनि हेर्ने प्रयास गर्नु होला जसवाट माफियाको सम्पतीको अन्दाज यहांलाई हुने छ ।
मेयर साप यहांलाई यति पढि सकेपछि यसले माफियाको पक्ष लियो, विकास विरोधी कुरा गर्यो भन्ने पनि पर्न सक्छ । तर म यस्ता सरकारी सम्पती संरक्षणको पक्षपाती नै हो । यहांले सम्पतीको संरक्षण गर्दा विकल्प पनि साथमै राख्नु पर्दथ्यो । जनता भएमात्र शासक हुने हो,जनता नै नरहे को माथि शासन गर्ने । कुरा सिधा छ जग्गा खाली गर्नु भयो नयां संरचना निमार्णको शिलन्यास पनि गर्नु भयो यति सम्म ठिकै छ तर अव उनीहरलाई सडकमा छाडेर तपाईको सम्बृद्धिको नारा ‘समृद्ध बुटवल खुसी बुटवलवासी’ कसरी सम्भव हुन्छ ।
आफ्नो नारा आफै असफल बनाउने वाटोमा किन लाग्नु भयो यहि प्रश्नको उत्तरको अपेक्षा गरिरहने छु । अहिले सर्वत्र सार्वजनिक जग्गा हडपेका समाचारहरु आईरहेका छन् । ठुला ठुला माफियाहरुले वालुवाटर देखि खुलामञ्च खाईसकेका छन् । यहि मेसोमा यहांले बुटवलको २ कठ्ठा १० धुर जग्गा बचाएर पदिय जिम्मेवारी त पुरा गर्नुहोला तर उनिहरुको विकल्प दिन नसके ति ववुराहरुको आँशुले नपोल्ला भन्न सकिदैन ।
अत्यमा, यति लेखिसकेपछि पुर्वाग्रहको आरोप लाग्न सक्छ । त्यो केहिहदसम्म सही पनि होला । किनभने यहाँ उनीहरुको पक्षधरता देखिएको हुन सक्छ । त्यसको प्रतिवादका लागि म तयार नै छु तर एउटा कुरा मेयरसाप उनीहरु हिजो आएर त्यहाँ बसेका होईन् । खोलको किनारमा बस्दा र त्यो जग्गाको संरक्षणका लागि उनीहरुको योगदान पनि छ । यदि कुनै गोप्य सहमती छैन भने त्यसको बदला उनीहरुले सडकको ततोघाम उपहार पाउनु पक्कै पनि न्यायिक होईन । यो कुरामा म अडिक रहने छु । उही हजुरको शुभचिन्तक