सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार महासंघले गरेको तेस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो । महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले प्रजिअ केसीलाई ज्ञापनपत्र बुझाएका थिए।
विराटनगरस्थित वीरेन्द्र सभागृहबाट पत्रकारको टोली ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापनपत्र दिनु अघि कार्यक्रममा बोल्दै महासचिव विबेक गौतमले विधयेक फिर्ता नभए कडा आन्दोलनमा उत्रिने बताए।
मोरङ शाखाका अध्यक्ष पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल कुनै हालतमा मान्य नहुने बताए। उनले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रता नै हनन गर्ने गरी संसदमा पेस गरेको विधेयक खारेज हुनुपर्ने माग गरे। विधेयक खारेज नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनलेदिए।