नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि राजनीतिक व्यवहार गर्न आग्रह गरेका छन् । उनले विप्लव माओवादीका निहत्था कार्यकर्ता नमार्न सरकारलाई आग्रह गर्दै यस्ता घटनाले राष्ट्रलाई नराम्रो गर्ने बताए ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा शुक्रबार उनले विभिन्न प्रकारका उपाय अवलम्वन गरी संवादबाट समस्या समाधान गर्न सरकारलाई सुझाए । ‘निहत्था कार्यकर्ता मार्ने कुराले राष्ट्र र समाजलाई राम्रो गर्दैन,’ सांसद केवटले भने, ‘तसर्थ घटनाबारे सत्यतथ्य के हो, गृह मन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’
उनले बिहीबार सर्लाहीको लालबन्दीमा भएको विप्लव माओवादीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युप्रति शंका व्यक्त गरे । पौडेलको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
उनले भने, ‘सर्लाहीको लालबन्दीमा विप्लव कार्यकर्ताको भिडन्तमा मारिएको भन्ने सुनिएको छ । वास्तवमा यतिबेला नि:शस्त्र व्यक्तिहरुलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ।’