सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताएका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले दातृ निकाय र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको पनि बताए।
उनले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गरे । मन्त्री पण्डितले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताए।
सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ ।