प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरेका हुन्।
आइतवार प्रस्तुत गरिएको बजेटमा वित्तीय व्यवस्थातर्फ २० करोड रकम विनियोजन गरिएको छ। तर बजेटमा कुनै नयाँ योजना नल्याई सरकारले पुरानै ठूला योजनालाई निरन्तरता दिएको छ।
सरकारले मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि ३९ करोड ३३ लाख रकम विनियोजन गरेको छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशसभा सांसदका लागि २ अर्ब ३५ करोड विनियोजन गरेको छ। सरकारले ‘खेत–खेतमे पानी हात–हातमे काम’ अभियानलाई समेत निरन्तरता दिँदै प्रभावकारी ढंगले सञ्चालन गर्न १ अर्ब ११ करोड रकम विनियोजन गरेको छ।
जनता आवास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले रु.१ अर्ब ३८ करोड ७० लाख विनियोजन गरेको हो। मुख्यमन्त्री स्वच्छता अभियानको निरन्तरताका लागि ३१ करोड ३५ लाख विनियोजन गरिएको छ। तर चुरे क्षेत्रका लागि सरकारले मात्र ५ करोड रकम विनियोजन गरेको छ।
बजेटबाट विपक्षी नेकपा र काँग्रेस सांसदरु भने असन्तुष्ट छन्। प्रदेश सभामा बजेट प्रस्तुत भएको केहिबेर स्थगित भएर बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल कांग्रेसका सांसदहरु प्रदेश सभाबाट बाहिरिएका थिए। प्रदेश सभामा बजेट टेबल भइरहदा नेकपा र प्रतिपक्ष काग्रेसका सांसदहरु संसदीय दलको कार्यलयमा छलफल गर्दै थिए।
प्रतिपक्षका सांसदहरुले प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि पोखेका छन्। यस्तो बजेटले प्रदेशको विकास सम्भव नहुने प्रतिपक्षीको आरोप छ। नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले बजेटले सरकारको नियत प्रष्ट भएको प्रतिकृया दिए। मण्डलले भने,‘बजेटमा प्रदेश समृद्ध हुने योजना नै छैन। बजेटमा अबंण्डा रकम धेरै छ। दुरुपयोग गर्न यो रकम राखिएको हो।’
चाल्ु आर्थिक वर्षमा राखिएको अवण्डा रकममा मन्त्रीहरुले अन्तिम समयमा चलखेल गरेकोले सरकारमाथि विश्वास गर्न सक्ने वतावरण छैन, उनले भने। ‘सरकारसंग बहुवर्षीय योजना नै छैन’, उनले भने ‘बजेट छर्ने काम मात्र भएको छ।’
नेकपाका अर्का सांसद रामचन्द्र मण्डलले प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी रहेको टिप्पणी गरे। यो बजेटले समृद्ध प्रदेशको परिकल्पना गर्न सकिदैन, सांसद मण्डलले भने, ‘कृषिको नारा दिने सरकारले बजेटमा किसानलाई निरास बनाएको छ ।’ आधारभुत विषयहरु कृषि र चुरे संरक्षणका लागि समेत सरकारले कुनै दीर्घकालीन योजना ल्याएको छैन,’ उनले भने। परम्परागत बजेटले प्रदेशको मानव विकास सूचकांक झन पछाडि धकेलिने सांसद मण्डलले बताए। सरकारले गर्दै आएको अनियमिततालाई निरन्तरता दिन अबण्डा बजेट छुटयाएको मण्डलले दावी गरे।
कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले बजेट अति महत्वाकांक्षी रहेको टिप्पणी गरे। मानव सूचाकांक उकास्न सरकारले कुनै ठोस योजना ल्याउन नसकेको बताउँदै उनले बजेटले समृद्ध प्रदेश बन्न नसक्ने दावी गरे। ‘समृद्ध प्रदेशका लागि कृषि, पर्यटन र उद्योगलाइ प्राथमिकतामा राखि पर्याप्त बजेट छुटाइएको छैन,’ यादवले भने, ‘सरकारले विकासको प्राथमिकता निर्धारण गरी उत्पादन क्षेत्रमा लगानी बढाउनुपथ्र्यो।’ बजेटको आकारले सरकारको लक्ष्य पुरा नहुने निश्चित रहेको उनले दावी गरे।
कांग्रेसकै अर्का सांसद शिवचन्द्र चौधरीले बजेट अनर्गल विषयवस्तुमा मात्र सीमित रहेको टिप्पणी गरे। ‘नीति तथा कार्यक्रमको संशोधन विपरित सरकारले बजेट ल्याएको छ,’ सांसद चौधरीले भने, ‘सरकारले हरेक मन्त्रालयमा अबण्डा रकम राखेर कार्यकर्ता पोस्न खोजेको छ।’
सत्तारुढ राजपा र फोरम नेताहरुले भने बजेटको प्रशंसा गरेका छन्। राजपाका सांसद परमेश्वर साहले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए। उनले बजेटले कृषि, पर्यटन र उद्योगकासाथै भौतिक पुर्वाधारलाई समेत प्राथमिकतामा राखेकाले बजेटले अब्बल प्रदेश बन्ने निश्चित रहेको बताए।