गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब सवा ३२ अर्बको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १२ अरब २८ करोड र पुँजीगततर्फ १९ अरब ८५ करोड गरी ३२ अर्ब १३ करोड रुपैयाँको बजेट संसदमा पेस गरे । बजेटमा पुँजीगततर्फ करिब ६२ र चालुतर्फ ३८ प्रतिशत अनुमान गरिएको मन्त्री गुरुङले बताए ।
खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारको समानीकरण अनुदान ७ अरब ११ करोड, सशर्त अनुदान ५ अरब ३५ करोड, समपूरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड प्राप्त हुनेछ ।
यसैगरी राजस्व बाँडफाँटबाट ७ अर्ब ७० करोड, रोयल्टी बापत ४० करोड, आन्तरिक राजस्वबाट ३ अरब २७ करोड ७५ लाख व्यहोरिने भएको छ । आगामी वर्षको बजेटका लागि ६ अर्ब ७४ करोड न्यून हुने मन्त्री गुरुङले बताए । घाटा बजेट पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने ४ अरब ८० करोड उपयोग गरिने भएको छ । त्यसो गर्दा पनि नपुगेको करिब २ अर्ब मध्ये ९९ करोड आन्तरिक ऋणबाट र बाँकी नेपाल सरकारबाट ऋण लिइने छ ।
गण्डकी सरकारले अघिल्लो वर्षकै धेरैजसो कार्यक्रमलाई निरन्तरता दिएको छ । पोहोरको बजेटमा सांसदलाई बजेट व्यवस्था नभएकोमा यो पालि भने प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड रुपैयाँ छुट्याइएको छ । ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा सांसदकै लागि ७२ करोड विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको भए पनि बजेट विनियोजनमा भने पछि पारिइएको छ । सरकारले पोहोरजस्तै भौतिक पूर्वाधारमा ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । पर्यटन, ऊर्जा, जलस्रोतलगायत क्षेत्रलाई प्राथमिकतामा राखी प्रदेशलाई समुन्नत बनाउने लक्ष्य सरकारले राखेको छ । चालु आर्थिक वर्षमा कर्मचारी समायोजन लगायत धेरै अवरोधका कारण चाहेजस्तो बजेट खर्च हुन नसके पनि ६८ प्रतिशत बजेट खर्च हुने सरकारले अनुमान गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय समेत बढेको सरकारले दाबी गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चालु वर्षको जस्तै आगामी बजेट पनि वितरणमुखी नै भएको प्रतिक्रिया दिए । प्रदेशलाई उकास्ने खालका योजनामा प्राथमिकता दिनुको साटो परिणाम नदेखिने क्षेत्रमा बजेट विनियोजन भएको उनको भनाइ थियो ।अघिल्लाे वर्ष २४ अर्ब २ कराेडकाे बजेट ल्याइएकाे थियाे ।