नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रन आव्हान गरेका छन् । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै थापाले प्रस्तावित कानुन संविधान, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै यसविरुद्ध बोल्न, लेख्न र जनमत निर्माण गर्न सांसद तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई आपील गरे । यो विधेयक पारित भए कोही पनि सुरक्षित नहुने पनि उनले बताए।
सांसद थापाले विधेयकमा सामाजिक सन्जालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेको भन्दै उनले भने, जिस्क्याउने, झुक्याउने, होच्याउनेजस्ता अस्पष्ट कानुनी प्रावधान राखिएको बताए।
उनले भारतको भन्दा कठोर कानुन बनाउन लागिएको भन्दै उनले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरे ।
उनले सरकारको नियत लेखक ब्रजेश खनालले भनेजस्तै रहेको देखिएको बताए। खनालको उद्दरण उद्दृत गर्दै थापाले भने, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु । तँ हेर त्यतिमात्र, जति म देखाउन चाहन्छु । तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रता घेरा मैले कोरेको शुन्यभन्दा बाहिर छैन । किनकी मलाई चिनेको छस्, म हुँ सरकार । हुँ म तेरो सरकार ।’
उनले आफ्नो कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट भए होसियर रहन पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे। उनले प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्नेहरु पनि होसियार रहनुपर्ने बेला आएको उल्लेख गर्दै भने, ‘यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’
भिडियो सौजन्य : सविन धमला ।