प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन्। उनी जेठ २५ गते नेपाली टोलीको नेतृत्व गर्दै बेलायत, फ्रान्स र स्वीजरल्याण्ड भ्रमणमा निस्किएका थिए।
ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल, प्रतिनिधसभा अध्यक्ष कृष्णबहादुर महरा, राष्ट्रिय सभाअध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरेका थिए।
युरोप भ्रमणका क्रममा ओलीले गत सोमबार स्वीट्जरलयाण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए। जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाटसमेत गरेका थिए।
प्रधानमन्त्रीले बेलायतको औपचारिक भ्रमणको सिलसिलामा बेलायतकी प्रधानमन्त्री थेरसा मेसँग भेटवार्ता गरेका थिए भने अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष समारोहलाई सम्बोधन समेत गरेका थिए।
बेलायतपछि फ्रान्सको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री ओलीले बुधबार, बिहीबार र शुक्रबार फ्रान्समा समय विताए। त्यहाँ ओलीले फ्रान्सेली समकक्षि इजुआर्ड फिलिपेसँग भेटवार्ता गरेका थिए।