सत्तारुढ नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजिनामा माग गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ ।
उनले मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ ।
साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे । साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।उनले गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब पनि दिए ।