हिन्दु धर्मसंस्कृतिको धरोहरस्थल जनकपुरमा दर्जनौं मठमन्दिर छन् । प्रदेश २ का अस्थायी राजधानीसमेत रहेको जनकपुरवरिपरी मठमन्दिरका साथै गुठी अधिनस्त बिघौं जग्गाजमिन छन् ।
तर भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा दर्जनौ मठमन्दिर समाप्त भएका छन् । २५ वर्षअघिसम्म टोलैपिच्छे मन्दिर र कुटी भेटिने जनकपुरमा केही नष्ट भइसके भने केही मन्दिरका भग्नावशेष मात्र बाँकी छन् । मठमन्दिर र कुटीले भरिएको जनकपुरधाम पौराणिक कालदेखि नै धर्मसंस्कृतिका लागि प्रख्यात छ । तर तिनै आस्थाका केन्द्रमाथि घात पुग्नेगरी सरकारले गुठी विधेयक ल्याएको भन्दै आक्रोसित छन, यहाँका साधुसन्तहरू ।
पछिल्लो समय सरकारले ल्याएको गुठी विधेयक विरुद्ध जनकपुरका साधुसन्तहरू आन्दोलन गर्ने भएका छन् । संघीय राजधानीसहित मुलुकका विभिन्न स्थानमा चर्को विरोध भइरहेको बेला जनकपुरका जानकी मन्दिर, राम मन्दिर लगायतका दर्जनौ महन्त तथा साधुसन्तहरूले हिन्दु धर्ममाथि प्रहार हुनेगरी विधेयक ल्याइएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ ले सरकारले धर्म, संस्कृति र परम्परा समाप्त पार्न गुठी विधेयक ल्याउन लागेको टिप्पणी गरे ।
उनले गुठी विधेयक सरकारले फिर्ता नलिए देशमा प्रलय आउने चेतावनी समेत दिए । उनले भने, ‘यस्तो प्रलय आउँछ कि सरकारले थाम्न सक्दैन ।’ साधु विभिषणमाथि प्रहार गर्दा हनुमानजीले क्षणभरमै लंका जलाएको इतिहास केलाउँदै महन्त वैष्णवले भने, ‘त्यसैले सरकारलाई आग्रह गर्न चाहन्छु कि मठ मन्दिर कब्जा गर्ने विधेयक फिर्ता लिइयोस । फिर्ता नलिए देश र प्रदेशमा धार्मिक प्रकोपद्वारा ठूलो क्षति हुन्छ । ’
साधु सन्त तथा महन्तहरूले गुठी विधेयकविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने महन्त दासले जानकारी दिए । ‘विगतमा मन्दिरका सारा सम्पति त सरकारले गुठी संस्थान खडा गरेर कब्जा गरिसक्यो र अहिले फेरी मठ मन्दिर पनि कब्जा गर्ने नियतले गुठी विधेयक ल्याउन ल्याइएको छ,’ उनले भने । जानकी मन्दिरकै उत्तराधिकारी महन्त रामरोशन दासले पछिल्लो विधेयक २०३३ सालमा राजा महेन्द्रले ल्याएको भन्दा पनि तानाशाही रहेको टिप्पणी गरे ।
‘राजाले कानुन ल्याउँदा ५० वटा मठमन्दिर नाश भए तरर अहिलेको विधेयक पारित हुने हो भने सम्पूर्ण मन्दिर समाप्त हुने निश्चित छ ,’ उनले भने । उनले पहिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकार मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र तर पनि विधेयक फिर्ता नभए सडक आन्दोलनसमेत गर्ने जानकारी दिए ।
राम मन्दिरका महन्त राम गिरीले मठमन्दिर समाप्त पार्ने षडयन्त्र स्वरुप सरकारले गुठी विधेयक ल्याएको बताए । तत्कालीन राजाले कानुन बनाएर राम मन्दिर अधीनस्त सम्पूर्ण जग्गा गुठी संस्थानअन्तर्गत लगेको स्मरण गराउँदै महन्त गिरीले बाँकी रहेको जग्गासमेत बिक्री गर्ने उद्देश्यले पछिल्लो विधेयक ल्याइएको उल्लेख गरे ।