अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दोस्रो प्रादेशिक सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा प्रदेश–३, गण्डकी प्रदेश र प्रदेश–५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन सुरु भएको हो । कार्यक्रममा महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानको क्षेत्रमा सरकारले ठूलो उपलब्धी हाँसिल गरेको बताए। उनले सरकारी मुद्दाको सफलता प्रतिशत ७२ दशमलव २८ पुगेको भन्दै उक्त तथ्याङ्क हालसम्मको उच्च रहेको दाबी गरे।
खरेलले प्रतिवादीको पहिचान एकीन गर्न सहयोग पुग्ने आधिकारिक कागज प्रमाणबेगर नै अभियोग लगाउने अभ्यासले पटक–पटक पहिचानको सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउँदै दह्रो प्रमाण बनाएर मुद्दा दर्ता गर्न अनुसन्धानकर्ता तथा अभियोजनकर्तालाई सुझाव दिए। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा प्रयोगशाला स्थापना गर्नुपर्ने उल्लेख गरेकाले यसले अपराध अनुसन्धानमा थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी आचार संहितालाई कार्यान्वयनमा ल्याउनु नेपाल प्रहरीको सबैभन्दा ठूलो उपलब्धी भएको बताए। अपराध अनुसन्धानमा नेपाल प्रहरीले विगतको तुलनामा धेरै सफलता हाँसिल गरेको खनालको भनाइ छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा तीन प्रदेशको १ सय ३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागीता छ । कार्यक्रममा महान्यायधिवक्ता कार्यालयबाट प्रकाशित बाल न्याय स्रोत सामग्री पुस्तकको विमोचन गरिएको थियो ।