पूर्वअर्थमन्त्री रामशरण महतले बजेटको आकार कृत्रिम रुपमा ठूलो पारिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए । एकतिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो ।
'जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ,' भरतपुरमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले भने । आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो ।
वर्तमान सरकारप्रति सर्वसाधारण र बौद्धिक वर्ग निराश भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले बताए । काङ्ग्रेसभित्रको गुट अन्त्य गरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उनको भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको उनको भनाइ थियो । -रासस