तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे ।
ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्नभिन्न समूहमा बाँडिएका छन् ।अघिल्लो वर्ष युवा नेताहरूले छाया सरकार गठन, शीघ्र महाधिवेशनदेखि समुन्नत नेपाल बनाउन भन्दै पार्टीसमक्ष २० वर्षे कार्यक्रमको विस्तृत खाका मागेका थिए । जसमा गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव र जीवन परियार थिए । केन्द्रीय समितिको बैठकमा संयुक्त प्रस्ताव पेस गर्दै उनीहरूले निर्वाचनमा कम्युनिस्टभन्दा कांग्रेस धेरै पछि परेको भन्दै पार्टीलाई नव जीवन दिन २० वर्षे कार्यक्रम चाहिने तर्क गरे ।
‘कांग्रेसभित्र वैकल्पिक समूहका रूपमा युवा नेता छन् भनेर हामी आफैँ अपग्रेड हुने, कांग्रेसबीच उत्साह भर्न सक्थ्यौँ । तर सुरुमै हाम्रो लफडा प¥यो । मैले र गगनजीले विशेष महाधिवेशनको कुरा ग-यौँ,’ अभियानमा सक्रिय युवा नेता प्रदीप पौडेल भन्छन्, ‘विशेष महाधिवेशन भन्ने शब्द हाल्ने हो भने मेरो हस्ताक्षर हुँदैन भनेर विश्वप्रकाश शर्माले भन्नुभयो । उहाँ पनि नछुट्नुहोस भनेर हामीले यो शब्द हटायौँ । त्यसपछि त्यो वक्तव्य नै काइते भयो ।’ पहिलो बैठकमा विश्वप्रकाश र अरू बैठकबाट अरू नेता बिस्तारै अन्यत्र लाग्न थालेपछि समस्या भएको पौडेल बताउँछन् ।
पार्टी सुधार कार्ययोजनाको त्यही प्रस्ताव गत पुसमा भएको महासमिति बैठकमा पनि पेस भएको थियो । तर, बैठकमा पेस गर्दा पनि नेताहरू सबै दरिलो गरी एक ठाउँमा उभिएनन् । वर्तमान नेतृत्व, सिनियर नेताहरूको कार्यशैली, सोच र चिन्तनले पार्टी प्रभावकारी नहुने भन्दै एक हुने अठोट लिएका उनीहरू महासमितिसम्म आइपुग्दा सुस्ताउन पुगे ।
गगन, प्रदीप र गुरुहरूसँगै मिलेर एउटै प्रस्ताव ल्याउने तयारी गरे पनि नवीन्द्रराज जोशीसहितका नेताहरूले भने छुट्टै प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । १५ नेताहरूको त्यो प्रस्तावमा युवा (सातजना) नेताहरूको पनि हस्ताक्षर छ । जसमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराईको हस्ताक्षर थियो ।त्यस्तै, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईंले पनि त्यसमा हस्ताक्षर गरेका थिए । महासमितिसम्म आइपुग्दा पनि यिनी दुवै समूहतिरका युवाहरूको समूहले एउटै प्रस्तावमा सहमति जनाउन सकेन । यी युवा नेताहरूको अनुहार हेर्दा देउवाइतर समूहहरूमा बढी युवा नेता देखिन्छन् ।नयाँ पत्रिकामा खबर छ।