संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
बिहिबार अपरान्ह दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए । एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने बताइएको छ ।
२५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ । केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा बाबुराम भट्टराई रहेका छन् । आयोगमा दल दर्ताको निवेदन दिएपछि अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए । उनले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको दाबी पनि गरे ।