प्रदेश ५ को प्रदेश सभाको बैठकले प्रदेशको स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समितिको म्याद पुन ६ महिनाका लागि थप गर्ने निणर्य गरेको छ ।बुटवल स्थित प्रदेश सभामा बसेको बिहिबारको प्रदेश सभा बैठकले बिशेष समितिको म्याद ६ महिना थप गर्ने निणर्य गरेको हो ।
प्रदेशको स्थायी राजधानी र नाम शिफारस गर्न गठन भएको बिशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगि सुझाव संकलन गरीसकेको छ । सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविदहरुसँग राय लिएर प्रतिवेदन पेश गर्न बिशेष समितिले ६ महिना समय माग गरेकाले बैठकबाट म्याद थप गरीएको सभामुख पुर्णबहादुर घर्तिले जानकारी दिए । यस अघि पनि समितिको म्याद २ पटक ३।३ महिना थप गरीएको थियो ।
यस अघि विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञहरुको राय लिएर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिनु उपयुक्त हुने भएकाले समितिको बैठकले म्याद थप गर्न अनुरोध गर्ने निर्णय गरेको बताए ।सभापति मगरका अनुसार समितिले त्रिभुवन विश्वविद्यालयका भूगोल, मौसम, वातावरणविदहरुसँग राय लिन शुरु गरेकोे छ। त्यस्तै सांस्कृतिक तथा सुरक्षाविदहरुसँग राय लिन बाँकी रहेको र उनीहरुसँग पनि राय लिइने उनले बताए।
विज्ञहरुलाई जिल्ला–जिल्लाबाट आएका सुझावहरुका आधारमा राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तु र कोहलपुरका बारेमा अध्ययन गर्न अनुरोध गरिने बताइएको छ। नामका सवालमा लुम्बिनी प्रदेशका पक्षमा अत्याधिक धेरैले सुझाव राखेको तथा सुझावमा बुद्ध प्रदेश, बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरु पनि आएका थिए।
नामका बारेमा पनि विज्ञहरुसँग राय लिने बताइएको छ। विज्ञहरुले दिने सुझावहरु र जिल्ला जिल्लाबाट आएका सुझावको विश्लेषण गरेर विशेष समितिले राजधानी र नामका लागि सिफारिश सहितको प्रतिवेदन तयार पार्ने र सो काम आगामी ६ महिना भित्रैमा पूरा गरिने समितिका सभापति पुन मगरले बताए।
संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ।
प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधन सहित) को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो। प्रदेश ५ सरकारले गत जेठ ९ गते प्रस्तुत गरेको नीति कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने उल्लेख छ ।