राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार उनले लोकसेवाले समावेशी नबनाई प्रकाशित गरेको विज्ञापनलाई रद्द गरिनुपर्ने बताए । उनले वर्षौंदेखि तयारी गरिरहेका विद्यार्थी सडकमा आउनुपर्ने अवस्था आएको भन्दै संविधानविपरीत आएको विज्ञापन सरकारले सच्याउनुपर्नेमा जोड दिए। 'समावेशी नभएको विज्ञापन सच्याउनुपर्नेमा हठी दूधे बालकजस्तो भएर लागू गरेरै छाड्छु भन्यो,' उनले भने, 'राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन दिँदा पनि सरकार मानिरहेको छैन । यो विज्ञापन खारेज गरियोस् ।'
समावेशीताका आधारमा लोकसेवाको विज्ञापन नल्याएमा अप्ठ्यारो आउन सक्ने उनले चेतावनी दिए । 'यो विज्ञापनले समावेशी सिटलाई खुलातर्फ पठाउनुपर्ने हुन्छ। विज्ञापन फिर्ता लिनुपर्ने हुन्छ,' उनले भने, 'गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार भएको छ। सरकारले होली वाइनको प्रचार गरिरहेको छ।'