नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन्। प्रेस संगठन चितवनले आज गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए।
‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ,’ सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको उल्लेख गर्दै उनले भने, ‘जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।’ आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए।
सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले यो विषय नयाँ नभएको प्रतिक्रिया दिए। दाहालले भने– ‘मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।’
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले यहाँ बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताए। आफैंले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रंगशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी उनले दिए। उनले भने, ‘मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसायचाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।’ रंगशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रष्ट पारे। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ ।
अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने बताए। उनले प्रदेश ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। -रासस