त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ‘अवैधानिक’ भएका छन्।
दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको स्ववियुको समय पूरा भएको महिनौँ बितिसक्दा पनि नयाँ निर्वाचन हुन सकेको छैन। उनीहरूको कार्यकालसमेत थप नभएकाले अवैधानिक भएका हुन्। ०७३ फागुनयता विभिन्न समयमा आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। फागुनमा निर्वाचन भएका स्ववियुको कार्यकाल सकिएको झन्डै साढे महिना बितिसक्दा पनि नयाँ नेतृत्वका लागि निर्वाचन वा पुरानैको समय थप हुन सकेको छैन।
त्रिविको स्ववियुसम्बन्धी नियमअनुसार कार्यकारी निर्वाचन गर्न नसक्ने अवस्थामा ६ महिना समय थप गर्न सक्ने व्यवस्था छ। तर, कार्यकारीले अहिलेसम्म समय थपको कुनै निर्णय गरेको छैन। त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्वयवियुको कार्यकाल सकिएको र नयाँ निर्वाचन नभएको अवस्था के गर्ने भन्ने निर्णय नभएको बताए। ०७३ सालमा निर्वाचित स्ववियुका पदाधिकारी समय थप नभए पनि कतिपय स्ववियु अध्यक्षकै हैसियतमा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।
फागुनमा हुनुपर्ने निर्वाचन यस वर्ष पनि टरेको छ। त्रिवि पदाधिकारीको आलटाल र विद्यार्थी संगठनले रुचि नदेखाएका कारण यस वर्ष कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन। फागुनमा स्ववियु चुनाव गर्ने शैक्षिक क्यालेन्डर बने पनि कार्यान्वयन भएन। त्रिवि पदाधिकारीका अनुसार अहिले त्रिविका परीक्षालगायतका कार्यतालिकाका कारण निर्वाचन हुने सम्भावना छैन। त्रिविका पदाधिकारीको कार्यकाल सकिन लागेकाले पनि उनीहरू धेरै विवादमा पर्न चाहेका छैनन्। नयाँ पत्रिकामा खबर छ।