छाया सरकारका अर्थमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि करले गरिबलाई झन् मारमा पारेको बताएका छन् । उनले कर बढाउनु उचित नभएको बताए ।
‘हिजो मूल्य अभिवृद्धि कर बढाउने आवश्यकता थियो, तर आज त्यो आवश्यकता छैन,’ प्रतिनिधिसभामा जारी बजेटसम्बन्धी छलफलमा उनले भने, ‘मूल्य अभिवृद्धि कर सबैभन्दा गरिबदेखि सबैभन्दा धनीसम्म पनि एउटै दरमा लाग्छ । त्यसैले यो प्रगतिशील होइन, अप्रगतिशील हो । अब यसबाट उम्केर मुलुकले प्रत्यक्ष करमा भरपर्नुपर्ने बेला भएको छ ।’
नेता रिजालले सरकारी खर्च कटौतीको प्रस्ताव गरेका छन् । उनले आगामी बजेटमा चालु खर्च शीर्षकमा विनियोजित रकमबाट करिब ५ करोड रुपैयाँ घटाउन प्रस्ताव गरेका हुन् । चालु शीर्षकमा खर्च बढाउनुपर्ने कुनै आवश्यकता नभएको उनको दाबी थियो । ‘अर्थ मन्त्रालयले चालु शीर्षकमा थप खर्च गर्नुपर्ने कुनै पनि आवश्यकता छैन,’ उनले भने, ‘त्यसैले चालु शीर्षकमा विनियोजन गरेको रकममा ४ करोड ८६ लाख रुपैयाँ घटाएर अघिल्लो वर्षकै बराबर यथावत् राखियोस् भन्ने खर्च कटौतीको प्रस्ताव राख्छु ।’
उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयक धार्मिक एवं सांस्कृतिक परम्पराविरुद्ध हुने भन्दै उक्त विधेयक अगाडि नबढाउन चेतावनी दिए । ‘१०–१२ वर्ष अगाडि ठूलै एक नेताले इन्द्रजात्राको खर्च कटाउनुभयो । ठूलो विरोध भयो र पछि त्यो खर्च फिर्ता गर्नुपर्यो,’ उनले भने, ‘काठमाडौंको परम्परागत रीतिथितिलाई भत्काउने गरी गुठीसम्बन्धी विधेयक बोकेर नआउनुस् ।’ संविधानको प्रस्तावनामा उल्लेखित धर्मनिरपेक्षताको भावनालाई सम्मान गर्न उनले सरकारसँग आग्रह गरे ।
नेता रिजालले बलियो योजना निर्माणमा अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको बताए । अर्थमन्त्रीले राजस्व उठाउनका लागि भरपर्दो आधार प्रस्तुत गर्न नसकेको उनको आरोप छ ।
उनले प्रधानमन्त्रीले बोलेजस्तो विकासका ठोस योजना बजेटमा आउन नसकेको बताए । बजेटमा तयारीबिनाका स–साना योजनासमेत राख्ने परम्परागत प्रवृत्ति दोहोरिएको उनको भनाइ छ । ठोस तयारीबिनाका योजना बजेटमा राख्न नहुनेमा उनले जोड दिए । ‘प्रधानमन्त्रीले तन्द्रामा बोलेको कुराले मात्र मुलुकको विकास हुँदैन। ठोस योजना निर्माण गरौं, योजनाको तयारी भएपछिमात्रै बजेटमा राख्ने चलन थालौं,’ रिजालले भने ।