भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हवाई रुट प्रयोग गर्न पाकिस्तानले अनुमति दिएको छ । संघाई सहयोग संगठन (एससीओ) सम्मलेनका लागि किर्गिस्तान जान मोदीले पाकिस्तानी आकाश प्रयोग गर्ने भएका हुन् ।
भारत सरकारले सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र पठाउँदै हवाई रुट प्रयोग गर्ने अनुमति मागेको थियो । पत्रमा मोदीले १३–१४ जुनमा किर्गिस्तानमा हुने सम्मेलनमा जाँदा तथा फर्कँदा पाकिस्तानी हवाई रुट प्रयोग गर्न अनुमति मागिएको थियो ।
भारतीय सेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा आतंकवादी संगठन जैश–ए–मोहम्मदको क्याम्पमा एयर स्ट्राइक गरेपछि दुई देशको सम्बन्ध अत्यन्तै चिसिएको थियो । जसका कारण पाकिस्तानले ११ वटा हवाई मार्गमा रोक लगाउँदै २ वटा मात्रै खोलिदिएको थियो।
पाकिस्तानी अधिकारीले न्यूज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री इमरान खानले भारतको आग्रह स्वीकार गरेको बताएपनि यसको प्रक्रिया पुरा भएपछि सबै विवरण सार्वजनिक गरिने बताएका छन्।
उक्त सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी हुँदैछन् । सम्मेलनका बेला भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री खानबीच साइडलाइन वार्ता हुन सक्ने आंकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरानले भारतसँग काश्मिर मुद्दा सुल्झाउन आफू वार्ताका लागि तयार रहेको भन्दै भारतमा पत्र नै पठाएका छन् । तर भारतले पाकिस्तानले आतंकवादलाई प्रशय दिइरहेको भन्दै वार्ताको आग्रह अस्वीकार गरेको थियो।
भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी हवाई रुट प्रयोग गर्न दिइएको यो पहिलो घटना भने होइन । यसअघि पूर्व विदेशमन्त्री सुषमा स्वराजले किर्गिस्तानको भ्रमण गर्दा पनि सोही रुट प्रयोग गरेकी थिइन्।