प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) को विरोधकाबीच सोमबार अबेरसाँझ नीति तथा कार्यक्रम पारित भएको हो ।
सदनमा सांसदहरुले नीति तथा कार्यक्रमप्रति उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुले उठाएका कुरा सम्बोधन गरिने आश्वासन दिएपछि काँग्रेसले भने नीति तथा कार्यक्रममाथि मौन समर्थन जनाएका थिए ।
यसअघि विपक्षीसँगै सत्तारुढ राजपाकै केही सांसदहरुको लगातार अवरोधले सरकारको नीति तथा कार्यक्रम ओलझेलमा परेका थियो । गत जेठ १९ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तारुढ राजपाका ५ तथा विपक्षीका ८ जना गरी जम्मा १३ जना सांसदहरुले संशोधन दर्ता गराएका थिए ।
विपक्षीसँगै सत्तारुढ राजपाका महासचिव समेत रहेका मनिष सुमन, विक्की यादव, डा. रिना यादव, नेत्रविक्रम शाह र परमेश्वर साहले नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएपछि सरकाका संकटमा परेका थिए । तर आजको बैठकमा यीनीहरुले संशोधन फिर्ता लिएका थिए ।
नेकपाका किशोरी साह, सुन्दरबहादुर विक, दिलिप साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डलको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।
राजपाका यी पाँचजना लगायत काँग्रेस र नेकपाका सांसदहरुले विपक्षमा मतदान गरेको खण्डमा नीति तथा कार्यक्रम पारित हुने अवस्था नदेखिएपछि सरकार नै संकटमा आउने सक्ने अवस्था सिर्जना भएको थियो । अन्तः समाजवादी फोरमका सँगै राजपा अध्यक्षमण्डका सदस्यहरुले संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिएपछि राजपाका सांसदहरुले फिर्ता लिन तयार भएका थिए ।
यस्तै प्रतिपक्षी दल नेकपा र काँग्रेस सरकार सम्पर्क भाषाको नाममा हिन्दी भाषा लाद्न खोजेको आरोप लगाउँदै संशोधन प्रस्ताव दर्ता गराएका थिए । नेकपा सांसदहरुले सरकारले ल्याएको एक सहिद परिवार एक रोजगार कार्यक्रममा मधेस आन्दोलनका सहिदलाई मात्र सहभागी गराइएकोप्रति आपत्ति जनाउँदै सहिदलाई समान व्यहार गर्न भनी संसोधन हालेका थिए ।