नेपाली कांग्रसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै यसले जनता, नेता तथा कार्यकर्तामा उत्साह थपिएको बताएका छन्।
पहिलो चरणको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रमलाई शनिवार जनकपुरमा सम्बोधन गर्दै उपसभापति निधिले भने पहिलो चरणको जागरण अभियान पूर्णतः सफल भएको छ, यसबाट नेता, कार्यककर्ता मात्र नभएर नेपाली जनता समेत उत्साहित भएका छन्।
काँग्रेसको जागरण अभियानले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको समेत दावी गर्दै उनले ओली सरकारका कारण परिबर्तनका एजेण्डा संकटमा परेका बेला पार्टीका नेता कार्यकर्तालाई एक ढिक्का भएर लोकतन्त्र र जनताको पक्षमा काम गर्न आग्रह गरे।
दुई तिहाइको दम्भमा ओली नेतृत्वको सरकारले सामाजिक संस्थादेखि अदालत, सेनामा समेत कम्युनिष्टकरण गर्न खोजेको उनले आरोप लगाएका हुन्। सरकारले एकपछि अर्को संविधान विरोधी कार्यलाई निरन्तरता दिएको निधिको भनाई थियो।
‘संघीय संसदमा आएका सबै विधेयक संविधान, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध विरोधी छन्,’ उनले भने, ‘प्रदेश २ का सरकारले पनि संघीयताको नाममा मधेशी जनतासँग मधेशवादको खोल ओढ़ेर भोट लिए तर संघीयताको पक्षमा काम गर्न सकेको छैन।’
ओली नेतृत्वको संघीयता विरोधी सरकारले गरेकोे गलत क्रियाकलाप र लोकतन्त्र विरोधी कार्यवारे जनतालाई सु–सूचित गर्न निधिले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। निधिले काँग्रेस बाहेक अन्य कुनै पनि पार्टीले आफूलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न नसकेको दावी गरे।