नेपाली काग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको समापन रुपन्देहीमा पनि भएको छ । अभियान समापन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय प्रतिनिधि तथा प्रदेश नम्बर ५ का सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले प्रधानमन्त्री ओली यही हिसावले चले धेरै दिन बालुवाटार बस्ने स्थिति नरहेको उल्लेख गर्दै दिन रात गन्ने दिन सुरु भइसकेको बताए । उनले अहिलेको सरकार जनताको सेवामा नभई भ्रष्टाचारमा लिप्त भई किसानलाई मल र बिउ उपलब्ध गराउन नसकेको बताए ।
लेखा समितिका सभापति चौधरीले जनताबाट कर उठाएर भ्रष्टाचार गर्नेलाई कांग्रृेसले सत्तामा बस्न नदिने बताउदै प्रेसलाई निमोठ्ने, नियन्त्रण गर्न खोज्ने सरकार विरुद्ध आन्दोलनको विकल्प नरहेको बताए ।
सुकुम्बासीको नाममा राजनीति गरेर बालुवाटारको जग्गा किन्ने र भ्रष्टाचार गर्ने दुस्हास गर्ने विष्णु पौडेलको दुर्दशा रुपन्देहीबाट सुरु भएको उनले बताए ।
उनले भने कांग्रेसले एकअर्कालाई हराउन होइन, एकअर्कालाई जिताउन लागौं, एकअर्काको कुरा काट्न होइन, एकअर्कासंगै हिड्ने बानी बसालौं ।
समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले सरकारले लोकतन्त्र, संविधान, संघीयता, जनताको सार्वभौमसत्ता नमानेको आरोप लगाए । लोकतन्त्र तथा संविधान विरोध गतिविधि गरेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनले बताए ।
नेपाली कांग्रेसले चाहे जुनसुकै सरकारलाई सडकबाटै ढाल्न सक्छ, तर हामी मुलुकमा स्थिरता चाहन्छौं, कांग्रेसको नेतृत्वमा मुलुकले लोकतान्त्रिक संविधान पाएको छ, तसर्थ संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको कांधमा आएको छ, उनले भने ।