नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको बताएका छन्।
विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उनले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको स्पष्ट पारे। नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरे।
विप्लव समूहलालाई संयमतापूर्वक वार्तामा बस्न आग्रह गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, “हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन ।”
सम्बोधनका क्रममा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए । उनले नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्न आग्रह गरे । नेता नेपालले जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । रासस