बेलायतलाई युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) नीतिमा असफल भएपछि बेलायती प्रधानमन्त्री टेरेजा मेले राजीनामा दिने घोषणा गरेकी छिन् । डाउनिङ स्ट्रीटमा आज गरिएको भावपूर्ण सम्बोधनमा उनले आगामी ७ जुनमा कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेकी हुन् । तर नयाँ प्रधानमन्त्रीको चयन नहुन्जेल उनी पदमै रहनेछिन् ।
सम्बोधनमा उनले सन् २०१६मा भएको जनमत संग्रहको परिणामलाई सम्मान गर्न आफ्नो तर्फबाट पूर्ण रुपले प्रयास गरेको बताइन् । उक्त जनमत संग्रहमा बहुसंख्यक बेलायती जनताले इयुबाट अलग हुने पक्षमा मत जाहेर गरेका थिए ।
मेले ब्रेक्जिट कार्यान्वयन गर्न असफल भएकोमा आफूलाई गहिरो दुःख लागेको बताइन् । ‘ब्रेक्जिटका लागि समर्थन जुटाउन पूरा प्रयास गरिएको हो, अब नयाँ प्रधानमन्त्रीले पनि यसलाई कायम राख्नु नै देशको हितमा हुनेछ,’ उनले भनिन् ।
सम्बोधनका क्रममा निकै भावुक भएकी उनले रुँदै प्रधानमन्त्रीको रुपमा काम गर्नु जीवनकै सबैभन्दा गर्वको कुरा भएको बताइन् । ‘म दोस्रो महिला प्रधानमन्त्री भएँ तर निश्चित रुपमा अन्तिम होइन,’ उनले भनिन् ।