छिमेकी भारतमा लोकसभा चुनावको परिणाम आएको छ । परिणामअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा दोस्रो कार्यकालको सरकार बन्ने पक्का छ ।
भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याएकाले मोदी नेतृत्वको सरकार दोहोरिने पक्का भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धन वर्तमान प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनाव लड्दा कंग्रेसको यूपीए गठबन्धनको नेतृत्व राहुल गान्धीले गरेका थिए ।
५ सय ४२ सिटका लागि भएको चुनावमा एनडीए गठबन्धनले ३ सय ५२ सिटमा जित निकाल्दा यूपीएले ८६ तथा अन्य दलहरुले १ सय ४ सिटमा जित हात पारेका छन् । एनडीए गठबन्धनमै रहेको सत्तारुढ दल भाजपा एक्लैले ३ सय बढी सिट जितेको छ ।
अब कुरा गरौं भारतीय कम्युनिस्ट पार्टीको । नेपालमा कम्युनिस्ट पार्टीले बहुमतसाथ केपी ओली नेतृत्वमा सरकार चलाइरहेको छ । यस्तै अर्को छिमेकी मुलुक चीनमा पनि सी चिनफिङ नेतृत्वमा कम्युनिस्ट सरकार चलिरहेको छ । भारतमा भने कम्युनिस्टको अवस्था दयनीय छ । यसपटकको लोकसभा चुनावमा भारतीय कम्युनिस्ट पार्टी (भाकपा) पूरै बढारिएको छ । भाजपाले स्पष्ट बहुमत ल्याउँदा कंग्रेस ५२ सिटसहित प्रमुख प्रतिपक्षी दल बनेको छ । उता नाजुक अवस्थामा पुगेको भाकपाले भने ३ सिटमा मात्रै जित हासिल गर्न सफल रह्यो । भारतको साम्यवादी दलको परिचय बनाएको भाकपाको स्थापना २६ डिसेम्बर १९२५ मा कानपुरमा भएको हो ।
एमएन रायले स्थापना गरेको भाकपा भारतकै सबैभन्दा पुरानो कम्युनिस्ट पार्टीका रुपमा परिचित छ । पार्टी पुरानो भए पनि २०१९ को लोकसभा चुनावमा यसले जनताको मन जित्न भने सफल भएन । भाकपाले सन् २००४ मा भएको चुनावमा १० सिट जितेको थियो । २००९ मा भने ४ सिटमै खुम्चियो भने २०१४ को चुनावमा एउटा सिटमात्र हासिल गर्यो । यसपटक २०१९ को लोकसभा चुनावमा भने ३ सिटमै चित्त बुझाउन बाध्य भयो । यसका महासचिव सीताराम यचुरी हुन् । भाकपामा उनी प्रभावशाली मानिन्छन् ।
भाकपाले पश्चिम बंगालमा ३५ वर्ष चलाएको नेतृत्व पनि गुमेको छ । २ सिटमा पश्चिम बंगालमा छिरेको भाजपा भने २०१४ को चुनावमा आफ्नो प्रभावलाई विस्तार गरेको छ । यहाँ मुख्यमन्त्री ममता बेनर्जीसँगको असन्तुष्टिकै कारण भाकपाका कार्यकर्ताहरुले पनि भाजपालाई मतदान गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले विश्लेषण गरेका छन् ।
सन् १९७७ देखि २०१२ सम्म पश्चिम बंगालमा कम्युनिस्ट पार्टीले सरकार चलाएको थियो । २०१२ मा तृणमूल कंग्रेसको जितसँगै यहाँ पनि कम्युनिस्ट पार्टीको प्रभाव घटेको हो । भारतमा अब कम्युनिस्ट पार्टी झन्डै सखाप भइसकेको अवस्था रहेको विश्लेषकहरुको धारणा छ ।
उसो त कम्युनिस्टको पत्तासाफ भएको अवस्था भारतमा रहे पनि भारतीय कंग्रेसले अलिकति भए पनि इज्जत भने जोगाएको छ । ऊ अबको ५ वर्ष प्रतिपक्षी बन्ने निश्चित छ । यसपटकको लोकसभा चुनाव मोदीमय बनेको छ । भाजपाको यसपटको नतिजा भन्दा पनि सफलता ठूलो मानिन्छ ।
सन् १९७१ मा इन्दिरा गान्धी नेतृत्वमा कांग्रेस आईले ल्याएको बहुमतपछि यो नै कुनै दलले प्राप्त गरेको ठूलो बहुमत हो । भाजपाका लागि यो उत्साहजनक नतिजाको दरिलो सारथि भने प्रधानमन्त्री मोदी बने ।
चुनावी अभियानदेखि नै विपक्षी प्रहारको सशक्त प्रतिकार गरेका मोदीसामु उनीहरुका सबै हथकन्डा फिक्का साबित भए ।
भाजपाले मोदीलाई बलियो र राष्ट्रिय मुद्दामा निर्णायक नेताका रुपमा प्रस्तुत गरेको थियो । जितसँगै दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री पक्का भएका छन् । जितलाई लिएर सुरुदेखि नै आत्मविश्वासी देखिएका मोदीले ‘भारतले फेरि एकपटक जित्यो’ भन्दै बिहीबार ट्वीटसमेत गरेका छन् ।
- एजेन्सीहरुको सहयोगमा