नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आज नेकपा प्रवेश गराउँदै उनले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताए ।
दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताए । सम्पूर्ण कम्युनिष्टलाई एकै ठाउँमा एकताबद्ध गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “सबै क्षेत्र, समुदायलाई एकताबद्ध गर्दै विकास र समृद्धिको नयाँ अभियानबाट समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
समाजवाद स्थापनाका निम्ति बाँकी रहेको कम्युनिष्ट एकै ठाउँमा जोडिन आवश्यक छ ।” अहिले कोही कसैलाई गाली गर्नेभन्दा पनि समृद्धिको यात्रामा अघि बढ्ने बेला आएको बताउँदै अध्यक्ष दाहालले हिजो कम्युनिष्टको नाममा त्याग गरेका व्यक्ति विस्तारै नेकपामा समाहित हुने विश्वास व्यक्त गरे ।
विगतमा आफूले नेतृत्व गरेको पार्टी छाडेर गएका नेता कार्यकर्ता पुनःफर्केर आउँदा एउटा अभिभावकका रुपमा आफूलाई अत्यन्त खुशी लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नवप्रवेशी नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए । उनले विगतमा कम्युनिष्ट आन्दोलनमा देखिएका बेथितिबाट पाठ सिक्दै अहिले एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने आवश्यकताका साथ अगाडि बढिएको बताए ।