प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको अधिकारलगायतका सबै प्रकारको सुरक्षामा सरकार गम्भीर भएको बताएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान ‘सुखी नेपाली समृद्ध नेपाल’ मा रहेको भन्दै जनतालाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताएका हुन् । उनले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान पनि गरे । प्रधानमन्त्री ओलीले राज्यले शिक्षामा लगानी गरेको भन्दै यो पर्याप्त नरहेको बताए । उनले निजी र सामुदायिक दुवै शिक्षालय मिलेर उत्कृष्ट शिक्षाको वातवरण र प्रविधि निर्माण हुँदै समृद्धिमा लाग्नुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले निजी शिक्षालय बन्द नगराई नियमन गर्ने सरकारको नीति हुने बताए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा नेपालमै दिन सकिने वातावरणका लागि सरकारले उचित सहयोग गर्ने बताउँदै निजी शिक्षालयले सेवाको भावना राखेर काम गर्नुपर्नेमा जोड दिए । मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउनेछन । शिक्षालयहरूले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिनेछन । मेला आइतबार सम्म चल्ने आयोजकले जनाएका छन् ।