प्रदेश २ का समानुपातिक सांसदहरुले प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीवार बसेको प्रदेशसभा बैठकमा विपक्षी नेकपा र काँग्रेससहित सत्तापक्षका सांसदहरुले बराबरी अधिकारको माग गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । प्रदेशसभा बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै राजपा सांसद डा. रिना यादवले विभेद अन्त्य नभए कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।
‘बजेट बाँडफाडमा भएको विभेद सच्यइएन भने दुइ दिनपछि हामी सबै समानुपातिक सांसद आन्दोलन गर्न बाध्य हुनेछौँ,’ उनले भनिन्, ‘संसदीय निर्वाचन क्षेत्र विकास कोषमा १ करोड रुपैयाँ दिएको भएपनि समानुपातिक सांसदले २० लाख मात्र पाएका छन् ।’ निर्वाचनमा मतदाताले विजयी बनाएर पठाएकाले आफुहरुलाई पनि प्रत्यक्ष निर्वाचित सांसदझैँ व्यवहार हुनुपर्ने उनको माग छ । ‘सांसदलाई १ करोड रुपैँया दिएको भनेर जनताहरु बुझिरहेका छन्, हिसाब मागिरहेका छन हामी कहाँबाट दिने,’ उनले प्रश्न गरिन् ।
नेकपा सांसद जगत यादवले संघीय लोकतान्त्रिक व्यवस्थामा समानुपातिक सांसदहरुसँग बारम्बार अवहेलना र अपमान हुँदै आएकोप्रति आपत्ति जनाए । उनले समानुपातिक सांसदसँग खोसेको अधिकार तत्कालै नदिए विद्रोह गर्ने चेतावनी दिए । ‘सरकारले जिमदारजस्तै समानुपातिक सांसदलाई गुलामीको जन्जीरमा बाँधेर राखेको छ, प्रत्येक सांसदलाई बराबर विकास बजेट नदिए हामी आन्दोलन गर्छौँ,’ उनले भने । निर्वाचन क्षेत्रमा सरकारले विनियोजन गरेको बजेटमा समानुपातिक सांसदलाई योजना छनौटमा सहभागी नगराइ सरकारले एकलौटी गरेको उनले आरोप लगाए ।
यस्तै काँग्रेस सांसद स्वरस्वती चौधरीले समानुपातिक सांसदसँग भएको विभेद अन्त्य नभए रोस्ट्रम घेराउ गरी आन्दोलन चर्काउने चेतावनी दिइन् । ‘प्रत्यक्ष र समानुपातिक सांसदमा भेदभाव किन ? के हामी चुनाव जितेको होइन् ?,’ उनले भनिन्, ‘विधेयक पास हुने बेलामा संख्या बढी हाम्रै हुन्छ तर बजेटमा भेदभाव किन ?’ महिला सांसद भएकाले पनि आफुहरुसँग विभेद हुने गरेको उनले गुनासो पोखिन् । फोन गर्दा महिला सांसदलाई मुख्यमन्त्रीले समेत बेवास्ता गरेको उनको गुनासो थियो । ‘महिला सांसदलाई किन यति अवहेलना ? बेटी पढाउ बेटी बचाउ योजना चलाउने तर बेटीसँगै विभेद गर्ने ? के यही नैतिकता हो ?,’ उनले थपिन् ।