राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन्। कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन्।
संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्मीसमेत सडक आन्दोलनमै उत्रिएपछि राष्ट्रपति भण्डारीले चासो देखाएकी हुन्।
छलफलमा राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको राहदानी विधेयक–२०७५ र बन्दै गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकबारे जानकारी लिएकी थिइन्।
भण्डारीले अधिकारकर्मीहरूसमेत आन्दोलनमै जानुपर्ने अवस्था किन आएको भन्दै संघीय संसद्मा कानुनी पृष्ठभूमि भएका सांसदलाई बोलाई धारणा बुझ्न खोजेकी थिइन्। उनलाई भेट्न राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी र रामनारायण बिडारी शीतल निवास पुगेका थिए। भेटमा सहभागी एक सांसदका अनुसार पछिल्लो समय विधेयक निर्माणमा किन विवाद बढिरहेको छ भनी राष्ट्रपतिले चासो व्यक्त गरेकी थिइन्। अन्नपूर्ण पाेस्टमा खबर छ।