दुश्मन भनिएका शक्तिसँग रणनीतिक मेलमिलाप गर्नुलाई हिंसात्मक विद्रोहताका माओवादी नेताहरु भन्ने गर्थे–दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति।
माओवादी नेताहरुले हिंसात्मक विद्रोहका बेला मात्र होइन, शान्ति प्रक्रियामा आएपछि पनि पटक–पटक ढाडमा टेकेर टाउकामा प्रहार गर्ने रणनीति अपनाउँदै आएका छन्।
माओवादीको हिंसात्मक विद्रोहका ‘भाष्यकार’ डा. बाबुराम भट्टराईले गत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबारे एक विवादास्पद अभिब्यक्ति दिए।
भट्टराईले भनेका थिए ‘अब कांग्रेसको युग सिद्धियो। उसले निजी स्वतन्त्रता, उदारवादमा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो। उसलाई धन्यवाद दिऔं। र सम्मानका साथ म्युजियममा राखौं।’
यस्तो अभिब्यक्ति दिने भट्टराई तिनै नेता हुन् जसले गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेसको मत पाएर अहिले प्रतिनिधिसभा सदस्य बन्न पाएका हुन्। कांग्रेसको मत नपाएको भए तत्कालीन माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसंग उनको लज्जास्पद हार हुने पक्का थियो। त्यस्तो जटिल अवस्थामा कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्दा उनले भनेका थिए ‘यो संसदको अबधि पाँच वर्षसम्म कांग्रेससँग राजनीतिको धर्म निर्वाह गर्नेछु।’
विजयपछिको सभामा नेपाली कांग्रेसको झण्डामुनी उभिँदै उनले आफू नेपाली कांग्रेसको पनि प्रतिनिधि भएको बताएका थिए । उनले आफूले जिताएपनि आफ्नो पार्टीको मान्छे होइन भन्ने भाव नेपाली कांग्रेसमा आउन नदिन प्रयास गर्ने उल्लेख गरेका थिए ।
कांग्रेसको मत पाएर चुनाब जितेको डेढ बर्ष पूरा नहुँदै भट्टराईले कांग्रेसको युुग सकिएकोले उसलाई म्युुजियममा राखौं भनेर जुन प्रस्ताव गरेका छन् त्यसले पुरानो नेपाली उखानको याद गराएको छ– खोलो त-यो लौरो बिस्र्यो।
२०७२ असोज ९ मा माओवादीको मूलधारबाट अलग भएर नयाँशक्ति पार्टी नेपालका अध्यक्ष बनेको डा. भट्टराईले भुल्न नहुने कुरा के हो भने कांग्रेसको मत नपाएको भए आज उनका लागि संसदको ढोका बन्द हुने थियो। संसद प्रबेशको ढोका खोलिदिने तिनै कांग्रेसी मतदाताको मनमा ठेस लाग्ने यस्तो अभिव्यक्तिले हिंसात्मक बिद्रोहताका माओवादीले भन्ने गरेको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति चरितार्थ गरेको छ ।
बाबुरामलाई समर्थन गर्ने कांग्रेसको निर्णयपछि नारायणकाजी श्रेष्ठ लगायतका माओवादी नेताहरुले भनेका थिए– बाबुरामलाई भोट हाल्ने निर्णय त गर्नु भयो हेर्दै जानुुस् उनले तपाईहरुलाई कहाँ कति गुन लगाउँछन्।